कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

साउन महिनाको पहिलो सोमबार छाङछाङदी मन्दिरमा १ लाख ३४ हजार ३६५ संकलन

Photo web

स्याङ्जा  । स्याङ्जाको प्रसिद्ध मन्दिर छाङछाङदी मन्दिरमा साउने महिनाको सोमबार १ लाख ३४ हजार ३६५ रुपैँया भेटि संकलन भएको छ । साउन महिना शिव भगवानको प्रिय महिना भएकाले भगवान शिवको पूजाआरधना तथा भक्तिभाव गर्नाले समृद्धि प्राप्त गरिने धार्मिक विश्वास रहेको छ । सोमबारको ब्रत प्रारम्भ गर्नेले साउनको सोमबारदेखि ब्रत आरम्भ गर्ने गर्छन् । साउन महिनाभर शाकाहारी भोजन ग्रहण गर्ने र शिव भगवानको पूजा आरधना गर्ने धार्मिक प्रचलन रहेको छ । 
पहिलो सोमबारको अवसरमा छाङछाङदी मन्दिरमा सहयोग रसिदबाट १६ हजार १०५, स्टल विक्रिबाट १० हजार ९००, गौमुख धाराबाट ३० हजार २६०, शिवलिंगमा चढाईएको भेटि १५ हजार ५००, मूल मन्दिर तथा भजनमण्डलीबाट ४४ हजार १००, दानपेटिकाबाट १७ हजार ५०० गरी कुल १ लाख ३४ हजार ३६५ रुपैँया संकलन भएको मन्दिर व्यवस्थापन समितिका सहसचिव शोभाकान्त पौडेलले बताउनुभयो । साउन महिनाको हरेक सोमबार र हरिशयनी एकादशीका अवसरमा महाआरती गर्ने कार्यक्रम अनुसार आज बेलुका ७ बजेबाट महाआरती तथा भजनकृतन गरिनेछ । आफ्ना दिवंगतको सम्झनामा मन्दिरमा महाआरती गराउने व्यवस्था गरिएको छ भने जन्मदिन तथा अन्य विषेश अवसरमा भक्तजनहरुको महाआरती गराउने इच्छा भएमा मन्दिर व्यवस्थापन समितिलाई सर्म्पक गर्न सक्ने जनाईएको छ ।  
यसरी विभिन्न पर्वहरुमा मन्दिरमा संकलित रकम मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गर्ने गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 
भगवान शिवपार्वतीको कथासंग प्रत्यक्ष जोडिएको छाङछाङदी मन्दिरको ऐतिहासिक महत्व समेत रहेको छ । मन्दिरको महिमाका विषयमा श्री स्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको छ । कथामा उल्लेख गरिएअनुसार भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आईपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिभूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाडबाट झरेकाले यस स्थानको नाम नै छाङछाङदी रहेको किम्वदन्ति छ । साथै यहाँ गौमुखे धाराहरु, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता राधाकृष्ण र गणेश मन्दिर निर्माण भएका छन् भने एकसय ८ पिपलका बोटहरुबाट साउन महिनाभरी जलधारा गरिन्छ ।
यहाँको प्राकृतिक स्वरुप हेर्दा गौथुनहरु, गणेशका मुर्ति, नाग, शिवका विभिन्न स्वारुप देख्न सकिन्छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, आश्रवण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ । मन्दिर परिसरमा निर्मार्णाधिन १०८ शिवलिंग र १०८ गौमुख धारा निर्माणमा समेत सहयोग गर्न सकिने व्यवस्था गरिएको छ भने आजिवन सदस्य बन्न ७ हजार ५०० शुल्क कायम गरिएको छ ।

प्रतिकृया दिनुहोस