कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

स्याङ्जामा ९८ प्रतिशत रोपाइँ सकियो

स्याङ्जामा ९८ प्रतिशत रोपाइँ सकियो

स्याङ्जामा ९८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ। धान रोपाइँ हुने क्षेत्रफलमध्ये साउनको अन्तिम हप्तासम्म झन्डै ९८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि विकास कार्यालयले जनाएको छ।

जिल्लाका चापाकोट टार, जिमुहा, वालिङ, पकान, डौँवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेबास तथा आँधीखोला, ज्याग्दीखोला र दरौँखोला आसपासका क्षेत्र धान उत्पादन हुने प्रमुख पकेट मानिन्छन्। स्थानीय कृषकहरूले उन्नत जातका खुमल, राधा, साँवा मन्सुली लगायतका र हाइब्रिड युएस ३१२, गोरखनाथ, एरिराइज ६४४४, पिएचबी ७१ जस्ता जातका धानहरू रोप्ने गरेका छन्।

जिल्लामा सामान्य धानका ब्याडहरू र खनेर रोप्ने साना सुर्काहरू बाहेक धान खेती हुने क्षेत्रफलमा धान रोपाइँ सकिएको कार्यालयले जनाएको छ। असार र साउनमा राम्रो वर्षा भएका कारण धानका बिरुवाले राम्ररी जरा र हाँगा हाल्न सजिलो भएकाले यसपटक धान उत्पादन राम्रो हुने अनुमान गरिएको छ। मौसम अनुकूल भएका कारण धान खेती राम्रो हुने देखिएको हो।

पछिल्लो समय कृषकहरू हाइब्रिड जातका धान खेतीतर्फ आकर्षित हुन थालेका छन्। उत्पादन धेरै हुने भएकाले हाइब्रिड जातका धान कृषकको रोजाइमा पर्दै गएका छन्। स्थानीय र उन्नत जातको धानको तुलनामा हाइब्रिड धानमा धेरै उत्पादन लिन सकिने कृषि विकास कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा कृषि अधिकृत नारायणप्रसाद पाठकले जानकारी दिनुभयो।

जिल्लामा धान रोपाइँ हुने क्षेत्रफल घट्दै गएको छ। पछिल्लो तथ्यांक अनुसार १३ हजार ६८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने भए तापनि बढ्दो सहरीकरण, सडक विस्तार र घरघडेरी निर्माणका कारण खेतीयोग्य जमिन घट्दै गएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा १४ हजार ३९० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको थियो।

प्रतिकृया दिनुहोस