कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

गल्याङले ५ लाख दिने, तीज कार्यक्रम स्थगित

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले बाढीपीडित राहत कोषमा नगरपालिकाका तर्फबाट ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । पछिल्लो समय देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।
बैठकले नगरपालिकाका जनप्रतिनिधिहरूले पाउने सेवा–सुविधाबापतको ७ दिन बराबरको रकम समेत राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । त्यस्तै, नगरपालिकामा कार्यरत कर्मचारीहरूको हकमा भने संघीय सरकारले गर्ने निर्णयअनुसार तहगत रूपमा तलबबाट रकम जम्मा गर्ने निर्णय गरिएको छ ।
नगरपालिकाले हरेक वर्ष आयोजना गर्दै आएको तीज विशेष कार्यक्रम समेत यस वर्ष स्थगित गर्ने निर्णय गरेको छ । आगामी भदौ २५ गतेका लागि तय गरिएको वार्षिक तीज कार्यक्रम विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै स्थगित गरिएको हो ।
त्यस्तै, गल्याङका व्यक्ति तथा विभिन्न संघसंस्थाले बाढीपीडितका लागि जिन्सी सामग्री सहयोग गर्न चाहेमा नगरपालिकाको सामाजिक शाखामार्फत सहयोग संकलन गर्ने र संकलित सामग्री जिल्ला प्रशासन कार्यालय, स्याङ्जामार्फत सम्बन्धित क्षेत्रमा पठाउने निर्णय बैठकले गरेको छ ।
नगरपालिका प्रमुख तथा विपद् व्यवस्थापन समितिका संयोजक गुरुप्रसाद भट्टराईले विपद्को समयमा स्थानीय सरकार जनताको साथमा रहेको बताउनुभयो । उहाँले विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै नगरपालिकाले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
प्रमुख भट्टराईले भन्नुभयो, “विपद्को यो समयमा हामीले गर्ने खर्च र कार्यक्रमभन्दा पीडित नागरिकको राहत र उद्धारलाई प्राथमिकता दिनुपर्छ । त्यसैले नगरपालिकाको तर्फबाट राहत कोषमा रकम जम्मा गर्ने, जनप्रतिनिधिको सेवा–सुविधाबाट सहयोग गर्ने र यस वर्षको तीज कार्यक्रम स्थगित गर्ने निर्णय गरेका हौँ ।”
उहाँले गल्याङका नागरिक तथा संघसंस्थाले बाढीपीडितका लागि सहयोग गर्न चाहेमा नगरपालिकाको सामाजिक शाखामार्फत सहयोग उपलब्ध गराउन आग्रह गर्नुभयो । संकलित सहयोगलाई व्यवस्थित रूपमा जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित क्षेत्रमा पु¥याइने उहाँको भनाइ छ ।
नगर उपप्रमुख तथा विपद् व्यवस्थापन समितिकी सदस्य हेमा न्यौपाने तिमिल्सीनाले विपद्को समयमा सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो । उहाँले पीडित नागरिकको दुःखमा स्थानीय सरकारसँगै गल्याङवासीलाई समेत जोड्ने उद्देश्यले जिन्सी सहयोग संकलनको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
उपप्रमुख तिमिल्सीनाले भन्नुभयो, “विपद्को पीडामा रहेका नागरिकलाई सहयोग गर्नु अहिलेको मुख्य दायित्व हो । गल्याङका नागरिक तथा संघसंस्थाले गर्न चाहनुभएको सहयोगलाई व्यवस्थित रूपमा संकलन गरी आवश्यक ठाउँमा पु¥याउने व्यवस्था मिलाएका छौँ ।”
नगरपालिकाले विपद्को समयमा राहत, उद्धार तथा सहयोगका कार्यलाई प्रभावकारी बनाउन सबै जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, संघसंस्था तथा आम नागरिकलाई सहकार्यका लागि समेत आग्रह गरेको छ ।
यसैबीच, नगरपालिकाले सोमबार नै सूचना निकालेर जिन्सी सहयोग गर्न चाहनेहरुलाई नगर कार्यपालिकाको कार्यालयमा जिन्सी सामान बुझाउन अनुरोध गरेको छ । नगरप्रमुख गुरुप्रसाद भट्टराईले सूचना जारी गरेर भाद्र १५ गते देखि १८ गतेसम्म जिन्सी सामाग्री नगरपालिकाको सामाजिक शाखामा बुझाउन भन्नुभएको हो । 
सूचनामा दाल चामल सहितका दैनिक उपभोग्य सामाग्रीका साथै कपडाहरु सहित अत्यावश्यक उपभोग्य जिन्सी सामाग्रीहरु संकलन गरिने भनिएको छ । 
राहत सामाग्रीहरु जिल्ला प्रशासन कार्यालय स्याङ्जा संग समन्वय गरि बाढि प्रभावित क्षेत्रमा पठाइने सूचनामा भनिएको छ ।


 

प्रतिकृया दिनुहोस