कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

बाढीपीडितका लागि गल्याङमा रास्वपाद्वारा राहत संकलन

गल्याङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जाको गल्याङ बजारमा भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी गल्याङ नगर समितिको आयोजनामा सोमबार गल्याङ बजारमा राहत संकलन गरिएको हो । पछिल्लो समय रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि पीडित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले राहत संकलन गरिएको नगर समितिले जनाएको छ ।
राहत संकलनका क्रममा नगद रकम नलिई जिन्सी सामग्री मात्रै संकलन गरिएको थियो । स्थानीय नागरिक तथा शुभेच्छुकहरूबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायतका आवश्यक सामग्री संकलन गरिएको आयोजकले जनाएको छ ।
संकलित राहत सामग्रीलाई सम्बन्धित पीडितसम्म व्यवस्थित रूपमा पु¥याउन जिल्ला प्रशासन कार्यालय, स्याङ्जामार्फत पठाइने रास्वपा गल्याङ नगर समितिले जनाएको छ ।
रास्वपा गल्याङ नगर सभापति टिकाराम भण्डारीले विपद्को समयमा राजनीतिक आस्था र विचारभन्दा माथि उठेर मानवीय सहयोगमा जुट्नुपर्ने बताउनुभयो । उहाँले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको पीडामा गल्याङवासीको साथ र सहयोग पुगोस् भन्ने उद्देश्यले राहत संकलन अभियान सञ्चालन गरिएको बताउनुभयो ।
भण्डारीले भन्नुभयो, “विपद् कसैको राजनीतिक आस्था हेरेर आउँदैन । अहिले बाढीपीडित नागरिकलाई हाम्रो साथ र सहयोग आवश्यक छ । त्यसैले हामीले नगदभन्दा आवश्यक जिन्सी सामग्री संकलन गरेर सम्बन्धित पीडितसम्म पु¥याउने अभियान थालेका हौँ ।”
उहाँले राहत संकलनमा सहयोग गर्ने सम्पूर्ण गल्याङवासी तथा शुभेच्छुकलाई धन्यवाद दिँदै संकलित सामग्री पारदर्शी र व्यवस्थित रूपमा जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित क्षेत्रमा पठाइने बताउनुभयो ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, स्थानीय तह तथा नागरिकस्तरबाट सहयोग अभियान सञ्चालन भइरहेका छन् । यसै क्रममा गल्याङमा पनि विभिन्न क्षेत्रबाट बाढीपीडितका लागि सहयोग जुटाउने क्रम बढेको छ ।

प्रतिकृया दिनुहोस