स्याङ्जामा एकै वर्षमा चार सडक पुल
स्याङ्जा - स्याङ्जामा गएको एक वर्षको अवधिमा चार वटा सडक पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार विकास कार्यालय स्याङ्जाले जिल्लाका विभिन्न ग्रामीण सडक खण्डमा एकै वर्षभित्र चार वटा सडक पुल निर्माण गरेको हो ।
स्याङ्जाको बिरुवा गाउँपालिकामा दुई, गल्याङ नगरपालिकामा एक र फेदीखोला गाउँपालिकामा एक गरी चार वटा सडक पुल निर्माण भएको छ । झण्डै १९ करोडको लागतमा चार वटा पुल निर्माण भएको कार्यालयले जनाएको छ । गएकै वर्ष ६ वटा सडक पुल निर्माण गर्ने लक्ष्य लिइएकोमा चार वटा मात्रै पुल निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।
बिरुवा गाउँपालिकामा निर्माण भएका दुई पुलमध्ये राक्सेघाटमा चार करोड ९२ लाख ७१ हजार रुपैयाँमा बनेको हो भने गैरीघाट पुल पाँच करोड ५१ लाख ७५ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । त्यस्तै गल्याङको रातोपुल पाँच करोड ४६ लाख १४ हजार रुपैयाँ र फेदीखोलाको खत्रीरहस्थित तिलस्वाँरा पुल तीन करोड १९ लाख ९४ हजारको लागतमा बनेको पूर्वाधार कार्यालयका प्रमुख इन्जिनियर गुरुदत्त अधिकारीले जानकारी दिए ।
उनका अनुसार ग्रामीण सडक खण्डमा पुल बनेसँगै स्थानीयलाई आवतजावत गर्न सहज भएको छ । दैनिक रुपमा स्थानीयलाई आवतजावतसँगै स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तु निकासी गर्न सडक पुलले सहजता पुर्याएको स्थानीयले बताएका छन् । पुलको अभावमा सवारीसाधन र पैदलयात्रु खोला वारपार गर्न स्थानीयले वर्षौँदेखि सास्ती भोग्दै आएका थिए ।
६ वटा सडक पुलमध्ये पुतलीबजार नगरपालिकाको सिंहाले र फेदीखोला गाउँपालिकाको सेतीखोलामा लक्ष्यअनुरुप सडक पुल बन्न नसकेको कार्यालयले जनाएको छ । चार करोड ५२ लाख ६८ हजार रुपैयाँ लागत रहेको सिंहाले पुलको झण्डै ५० प्रतिशत र चार करोड ९४ लाख ६३ हजार लागतको सेतीखोला पुल ४० प्रतिशत काम सकिएको कार्यालयका इन्जिनियर पोषराज पौडेलले जनाए ।
निर्माण कम्पनीको लापरबाहीले सिंहाले र सेतीखोला पुल समयमै निर्माण हुन नसकेको कार्यालयले जनाएको छ । सुयान बिल्डर्स निर्माण कम्पनी वालिङले जिम्मा पाएको दुबै सडक पुल निर्माण सामग्रीको सहज आपूर्ति नहुँदा र महँगीका कारणले निर्माण हुन नसकेको कम्पनीले दाबी गरेको छ । तोकिएको समयमै पुल बन्न नसक्दा झण्डै एक करोड ६० लाख रुपैयाँ फ्रिज भएको छ ।
त्यस्तै पूर्वाधार विकास कार्यालयले गएकै वर्ष झण्डै एक करोड ४५ लाख रुपैयाँको लागतमा चार वटा झोलुङ्गे पुल निर्माण गरेको छ । पुतलीबजारको नारायणस्थान–मुजवा, चापाकोटको माडीस्थित बर्कानटार–कसेनी, भीरकोट नगरपालिकाको धुवादीखोलामा चराङ्ग–साउन्दी जोड्ने गरी र हरिनास गाउँपालिकाको लालही–बलाम्दी जोड्ने गरी झोलुङ्गे पुल निर्माण गरेको कार्यालयले जनाएको छ ।








प्रतिकृया दिनुहोस