कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

. कालोपत्रे नहुँदै जीर्ण बन्यो गल्याङ्–चापाकोट सडक

 

स्याङ्जा - जिल्लाको दक्षिण पूर्वी चापाकोट क्षेत्रलाई सिद्धार्थ राजमार्गसँग जोड्ने उद्देश्यले निर्माण थालिएको सडकले पुर्णता नपाउँदै जीर्ण बन्दै गएको छ । ट्रयाक खुलेको ३१ वर्षमा गल्याङ्–चापाकोट सडकले पुर्णता नपाउँदै जीर्ण बन्दै गएपछि सार्वजनिक यातायातका सवारीसाधन चल्न बन्द भएको छ ।

फलफूल र खाद्यान्न उत्पादनका लागि प्रचुर सम्भावना बोकेको चापाकोटलाई सिद्धार्थ राजमार्गसँग जोड्न २०५२ सालमा सडकको नयाँ ट्रयाक खुलेको थियो । उत्पादित कृषिजन्य वस्तको व्यापारसँगै स्वरोजगारी र्सिजना र आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले निर्माण थालिएको सडकले पुर्णता नपाउँदै जीर्ण बन्न थालेपछि स्थानीय निराश भएका छन् । 

सडक निर्माणले आवश्यक गति नलिदा सार्वजनिक सवारीसाधन चल्न बन्द भएका छन् भने सडक स्तरोउन्नतिको काम वर्षौँदेखि अलपत्र पर्दा स्थानीयले सास्ती भोग्दै आएका छन् । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने सडकमा कष्ठपूर्वक यात्रा गर्दा स्थानीयले सास्ती भोग्दै आएका हुन् । केही वर्षअघिसम्म चापाकोटबाट गल्याङ् हुँदै बुटवल दैनिक ८ वटा मिनीबस र गल्याङ्सम्मका लागि १५ वटा बोलेरो जिप नियमित सञ्चालनमा रहेका थियो ।

निर्माण कार्यले पुर्णता नपाउँदै पछिल्लो समय सडक दिनानुदिन बिग्रदै गएको छ । बर्खाको सयममा सडकको अवस्था दयनीय बनेको छ । गल्याङ्–चापाकोट सडकखण्डाको सुन्तलीटार, किसान, मनहरी, बेलचौर, आँपचौर, ढाडेखोला, सम्पास र प्याउनासलगायत आसपासका स्थानीयलाई बजार पुग्न र दैनिक आवतजावत गर्न निकै कठिन भएको स्थानीय तेजप्रसाद खनालले बताए । 

गल्याङ्देखि चापाकोटस्थित दामाचौरसम्मको २७ किलोमिटर सडकमध्ये करिब ११ किलोमिटर खण्ड अत्यन्त जीर्ण बनेसँगै सडक प्रयोगमा कठिन बनेको छ । गण्डकी प्रदेश सरकारको समपूरक शीर्षकको बजेटबाट २०८० चैतमा ४२ करोड रुपैयाँ लागतमा तीन वर्षमा काम सक्ने गरी सडक कालोपत्रेको काम शुरु गरिएको थियो । सडक विस्तारको जिम्मा पाएको अमर कन्स्ट्रक्सनले तोकिएको समयमै निर्माणको काम नसक्दा सडक जीर्ण बन्दै गएको हो ।  

निर्माण सामग्रीको सहज उपलब्ध नहुनु, मूल्य वृद्धिका कारण सडक निर्माणमा ढिलाइ भएको पूर्वाधार विकास कार्यालयले दाबी गरेको छ । सडक विस्तारका लागि आर्थिक वर्ष २०८०÷८१ को २० करोड र दोस्रो वर्ष २०८१÷८२ को २० करोड रुपैयाँको बजेटमा सडक निर्माणको कामले अपेक्षाकृत गति लिएको थियो । पछिल्लो वर्ष २०८२÷८३ को झण्डै १४ करोड रुपैयाँ बजेट खर्च हुन नसक्दा सडकले पुर्णता नपाउँदै जीर्ण बन्दै गएको पूर्वाधार कार्यालय प्रमुख इन्जिनियर गुरुदत्त अधिकारीले बताए । 

तोकिएकै समयमै सडक बन्न नसक्दा लागत बढ्दै गएको छ भने बनेका सडक संरचना समेत जीर्ण बन्दै गएको कार्यालय प्रमुख अधिकारीले बताए । आउँदो वर्षभित्र सडक पुरा नगरे निर्माण कम्पनीलाई कारबाही स्वरुप जरिवाना र ठेक्का तोड्नेसम्मको निर्णय गरिने अधिकारीको भनाइ छ । 

उक्त सडकलाई गल्याङ् हुँदै बुटवलु भैरहवा तथा तनहुँको दुलेगौंडा हुँदै राजधानी काठमाडौं पुग्ने मुख्य ‘लाइफलाइन’का रूपमा लिने गरिन्छ । सडक समयमै निर्माण नहुँदा स्थानीयले कालीगण्डकी करिडोर हुँदै लामो र झन्झटिलो यात्रा गर्न बाध्य छन् । निर्माण कम्पनीलाई प्रभावकारी रूपमा काम गराउन नसक्नु, पूर्वाधार कार्यालयको गैरजिम्मेवार र पटक–पटक म्याद थप्दै जाँदा समस्या थपिदै गएको स्थानीय नरेन्द्र अर्यालले बताए । 

गल्याङ्–चापाकोट सडक आयोजना समयमै स्तरोन्नति भए त्यस क्षेत्रका लाखौ स्थानीयलाई व्यावसायिक गतिविधि संचालन र दैनिक आवागमन सहज हुने थियो । जिल्लाको दक्षिण पूर्वी भेगमा उत्पादित कृषिजन्य वस्तुको सहज निकासीसँगै व्यापार, व्यवसाय, पर्यटन र समग्र आर्थिक क्षेत्रमा सडकले नयाँ अवसरको ढोका खोल्नेमा स्थानीयले विश्वास जनाएका छन् ।  

प्रतिकृया दिनुहोस