कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

स्याङ्जामा ग्यासको कृत्रिम अभाव रोक्न छड्के

 

स्याङ्जा - जिल्लाका प्रमुख बजार क्षेत्रमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न छड्के अनुगमन थालिएको छ । जिल्ला प्रशासन कार्यालयले ग्यास डिलर र सप्लायर्समाथि छड्के अनुगमन गरेको हो ।

उपभोक्ताबाट बजारमा एलपी ग्यास सहज रूपमा नपाइएको गुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीको नेतृत्वमा संयुक्त अनुगमन टोली परिचालन गरिएको छ । टोलीले दुई दिनदेखि जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा ग्यासको आपूर्ति, मौज्दात र वितरण गर्ने प्रक्रियामा छड्के अनुगमन गरेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, एकीकृत कार्यालय तथा सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित टोलीले पुतलीबजार, वालिङ, भीरकोट, गल्याङ् र चापाकोट नगरपालिकास्थित ग्यास डिलर तथा सप्लायर्सको अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश डिलरमा उद्योगबाट नियमित रूपमा एलपी ग्यास आपूर्ति भएको पाइएको प्रशासनले जनाएको छ । 

ग्यासको वितरण प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउनुपर्ने आवश्यकता देखिएको अनुगमन टोलीको निष्कर्ष छ । टोलीले डिलर तथा सप्लायर्ससँग ग्यासको मौज्दात, उद्योगबाट भएको आपूर्ति र उपभोक्तासम्म पु¥याइएको वितरणसम्बन्धी अभिलेखसमेत चेकजाँच गरेको छ । अनुगमनपछि व्यवसायीलाई ग्यासको आयात, मौज्दात र वितरणको स्पष्ट विवरण राख्न निर्देशन दिइएको छ ।

बजारमा ग्यासको कृत्रिम अभाव सिर्जनासँगै कालोबजारी गर्ने लगाएतका गतिविधि सह्य नहुने सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । उद्योगबाट नियमित आपूर्ति हुँदाहुँदै अनावश्यक ग्यास भण्डारण गर्ने, वितरणमा विभेद गरेको वा अभाव देखाउने कार्य गरेको भेटिए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने उनले चेतावनी दिए ।

उपभोक्ताको हित संरक्षण प्रशासनको प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै बजार अनुगमनलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ । ग्यास वितरणमा समस्या, अनियमितता वा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास देखिए तत्काल जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन उपभोक्तासँग आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस