कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

जनमत मञ्च पुतलीबजारमा सम्पन्न

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा उम्मेद्वारहरुसँग जनमत मञ्च कार्यक्रम सम्पन्न भएको छ । 
संबृद्धि मिडिया हाउसको आयोजनामा ‘सवाल जनताको जवाफ नेताको’ शीर्षकमा जनमत मञ्च कार्यक्रम गरिएको हो । 
कार्यक्रममा स्याङ्जा क्षेत्र नम्बर १ का उम्मेद्वारहरुले कानून निर्माण सहित विकासमा अधिकतम पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
फागुन २१ म हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा क्षेत्र नम्बर १ का प्रमुख राजनीतिक दलका उम्मेद्वारहरू उपस्थित भई आफ्ना एजेण्डा र प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
कार्यक्रममा नेपाली कांग्रेसका उम्मेद्वार भरतराज ढकालले आफू निर्वाचित भएमा कानून निर्माण प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताउनुभयो । 
उहाँले स्याङ्जाको सम्भावनालाई सदुपयोग गर्दै रोजगारी सिर्जना र युवालाई स्वदेशमै अवसर प्रदान गर्ने दिशामा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ढकालले जनतासँग प्रत्यक्ष संवाद र जवाफदेहितालाई आफ्नो कार्यशैलीको मूल आधार बनाउने बताउनुभयो ।
त्यस्तै नेकपा एमालेका उम्मेद्वार मिनप्रसाद गुरुङले स्थिर सरकार र दिगो विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले सडक, खानेपानी, सिँचाइ तथा पर्यटन प्रवद्र्धनमा विशेष जोड दिँदै स्याङ्जालाई आर्थिक रूपमा सशक्त बनाउने योजना प्रस्तुत गर्नुभयो । गुरुङले संघीय संसद्मा स्याङ्जाको आवाज बलियो रूपमा उठाउने र नीति निर्माणमा सक्रिय योगदान दिने प्रतिबद्धता जनाउनुभयो ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टी शैलन्द्र घिमिरेले समावेशी विकास र सामाजिक न्यायलाई आफ्नो मुख्य एजेण्डा रहेको बताउनुभयो । उहाँले किसान, मजदुर र निम्न आय वर्गका नागरिकका पक्षमा नीति निर्माण गर्न पहल गर्ने धारणा राख्नुभयो । 
स्थानीय उत्पादनको प्रवद्र्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिँदै घिमिरेले वैकल्पिक राजनीतिक सोच आवश्यक रहेको बताउनुभयो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार धनन्जय रेग्मीले पारदर्शिता, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले पुराना राजनीतिक अभ्यासभन्दा फरक शैलीमा काम गर्दै जनतामुखी कानून निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
रेग्मीले युवाको सहभागिता र नवीन सोचमार्फत विकासलाई गति दिने योजना सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा उपस्थित स्थानीय बासिन्दाले रोजगारी, शिक्षा, स्वास्थ्य सेवा विस्तार, कृषि आधुनिकीकरण, सडक स्तरोन्नति तथा युवा पलायनजस्ता विषयमा उम्मेद्वारहरूसँग प्रत्यक्ष प्रश्न राखेका छन् । उम्मेद्वारहरूले जनताका जिज्ञासाको जवाफ दिँदै आफ्नो कार्ययोजना स्पष्ट पार्ने प्रयास गरेका छन ।
कार्यक्रमको सहजिकरण पत्रकार राजेन्द्र बानियाले गर्नुभएको थियो । 
जनताको चासो र उम्मेद्वारको धारणा प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले आयोजना गरिएको जनमत मञ्च कार्यक्रम प्रभावकारी र अन्तरक्रियात्मक बनेको आयोजक प्रतिपत्र डटकमका प्रबन्ध निर्देशक प्रतिक्षा काफ्लेले बताउनुभयो ।

प्रतिकृया दिनुहोस