सांसद डुम्रे र गल्याङका जनप्रतिनिधिबीच अन्तरक्रिया
स्याङ्जा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेको उपस्थितिमा गल्याङ नगरपालिकाका जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम भएको छ ।
गल्याङ नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य डुम्रेले सबैको ध्यान यस क्षेत्रको विकास र संबृद्धिका लागि भएको भन्दै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।
सांसद डुम्रेले जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य बलियो भए मात्रै विकास निर्माणका काम प्रभावकारी बन्ने बताउनुभयो।
उहाँले जनताका अपेक्षा पूरा गर्न सबै तहका जनप्रतिनिधिले साझा उद्देश्यका साथ काम गर्नुपर्ने उल्लेख गर्दै विकासका प्राथमिकतालाई केन्द्रमा राखेर योजना कार्यान्वयन गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले नगरपालिकाले आवश्यक योजना तथा कार्यक्रम अघि बढाउन निरन्तर पहल गरे पनि यस आर्थिक वर्षमा योजना तथा बजेट कटौती हुँदा स्थानीय विकास प्रभावित हुने अवस्था सिर्जना भएको गुनासो गर्नुभयो। उहाँले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर आगामी दिनमा पर्याप्त बजेट विनियोजन गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाले स्थानीय सरकारको प्रभावकारी सेवा प्रवाह, जनअपेक्षाअनुसार विकास आयोजना सञ्चालन तथा संघीय सरकारसँगको समन्वयलाई थप मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो।

कार्यक्रम सञ्चालन गर्नुभएका प्रमुख प्रशासकीय अधिकृत युबराज अधिकारीले नगरपालिकाले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन विभिन्न सुधारका कार्यहरू अघि बढाइरहेको जानकारी दिनुभयो। उहाँले स्थानीय तहमा देखिएका चुनौती समाधानका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
अन्तरक्रियामा विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरूले आ–आफ्ना वडामा रहेका विकास निर्माणका आवश्यकता, पूर्वाधार विस्तार, खानेपानी, सडक, कृषि, शिक्षा, स्वास्थ्यलगायतका विषय उठान गरेका थिए। उनीहरूले सेवा प्रवाहमा देखिएका समस्या, स्थानीय नागरिकका अपेक्षा तथा आगामी विकास योजनाका प्राथमिकताबारे सांसद डुम्रेसँग छलफल गरेका थिए।
कार्यक्रममा विकास निर्माणका कामलाई तीव्रता दिने, स्थानीय आवश्यकता अनुसार योजना छनोट गर्ने तथा संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै जनताको जीवनस्तर सुधारका लागि साझा प्रयास गर्ने विषयमा समेत छलफल भएको थियो।
यसैबीच प्रतिनिधिसभा सदस्य डुम्रेले गल्याङ प्रहरी चौकीको पनि अवलोकन गर्नुभएको थियो। सो अवसरमा उहाँले प्रहरी कर्मचारीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्दै स्थानीय शान्ति सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा नागरिक सुरक्षाका विषयमा जानकारी लिनुभएको थियो। कार्यक्रममा प्रहरी र जनप्रतिनिधिबीच सुरक्षा चुनौती, समुदाय–प्रहरी साझेदारी तथा नागरिकमैत्री प्रहरी सेवाका विषयमा समेत छलफल भएको जनाइएको छ।











प्रतिकृया दिनुहोस