गल्याङ नगरपालिकाको सार्वजनिक सुनुवाइ साउन ४ गते सोमबार हुने
गल्याङ - स्याङ्जाको गल्याङ नगरपालिकाको सार्वजनिक सुनुवाइको सहजिकरण गल्याङ एफएमले गर्ने
भएको छ । गल्याङ नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका काम, सेवा प्रवाह, बजेट कार्यान्वयन तथा विकास निर्माणका गतिविधिबारे नागरिकलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ । यसको सहजीकरण गल्याङ संचार प्रा.लि गल्याङ एफएम ९२.२ मेगाहर्जले गर्ने भएको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रम आगामी साउन ४ गते सोमबार गल्याङ नगरपालिका–२ स्थित वडा कार्यालय गुठीमा बिहान ११ बजेदेखि सञ्चालन हुनेछ ।
गल्याङ नगरपालिकाको आयोजनामा हुन लागेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीयवासीको सहभागिता रहने जनाइएको छ। सार्वजनिक सुनुवाइमार्फत नगरपालिकाले एक वर्षको अवधिमा सम्पन्न गरेका विकास निर्माण, सेवा प्रवाह, बजेट तथा योजनाको कार्यान्वयन, उपलब्धि, चुनौती र आगामी प्राथमिकताबारे जानकारी गराइनेछ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले सार्वजनिक सुनुवाइ स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई अझ पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउने प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले कार्यक्रममा सहभागी भएर नगरपालिकाको कामकारबाहीका विषयमा नागरिकले खुला रूपमा प्रश्न, जिज्ञासा, गुनासा तथा रचनात्मक सुझाव राख्न सक्ने जानकारी दिनुभयो।
प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार सार्वजनिक सुनुवाइमा उठाइने प्रश्नहरूको सम्बन्धित जनप्रतिनिधि तथा शाखा प्रमुखहरूले सोही कार्यक्रममा जवाफ दिने व्यवस्था मिलाइएको छ। यसबाट नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने विश्वास गरिएको उहाँको भनाइ छ।
उहाँले गल्याङ नगरपालिकावासी, सरोकारवाला निकाय, बुद्धिजीवी, पत्रकार तथा सबै नागरिकलाई कार्यक्रममा उपस्थित भई आफ्ना सुझाव, जिज्ञासा र गुनासाहरू रचनात्मक रूपमा प्रस्तुत गर्न आग्रह गर्नुभएको छ।
स्थानीय सरकार सञ्चालन ऐनले व्यवस्था गरेअनुसार सार्वजनिक सुनुवाइ कार्यक्रम स्थानीय तहको सुशासन प्रवद्र्धन, पारदर्शिता अभिवृद्धि र जनउत्तरदायित्व सुनिश्चित गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिइन्छ। गल्याङ नगरपालिकाले पनि यही उद्देश्यलाई आत्मसात गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।









प्रतिकृया दिनुहोस