लगातारको वर्षा र विपद्को जोखिम: स्याङ्जामा रात्रिकालीन सवारी सञ्चालनमा रोक
स्याङ्जा - लगातारको भारी वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर भारी तथा अति भारी वर्षाका कारण बाढी, पहिरो, डुबान लगायतका विपद्को जोखिम बढ्न सक्ने चेतावनी जारी गरेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले यस्तो निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेद्वारा जारी सूचना अनुसार साउन २ र ३ गते जिल्लाभित्रका सिद्धार्थ राजमार्गका खण्ड तथा अन्य शाखा सडकहरूमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रशासनले सार्वजनिक यातायातसहित अन्य सबै प्रकारका सवारी चालकलाई अत्यावश्यक अवस्था बाहेक रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। सडकको अवस्था तथा मौसमलाई ध्यानमा राख्दै आवश्यक परे थप निर्णय गरिने पनि सूचनामा उल्लेख छ।
त्यसैगरी, बाढी र पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सर्न, अनावश्यक यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्दा नजिकको सुरक्षा निकायसँग समन्वय गरी उनीहरूको निर्देशन पालना गर्न अनुरोध गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सम्भावित प्राकृतिक विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सबै नागरिकलाई सतर्क रहन र सुरक्षा निकाय तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ। साथै, यस व्यवस्थाबाट सर्वसाधारणमा पर्न जाने असुविधाप्रति प्रशासनल क्षमायाचना समेत गरेको छ।









प्रतिकृया दिनुहोस