कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

स्याङ्जा प्रहरीको असार महिनाको प्रगति: सवारी कारबाहीबाट १३ लाख राजस्व संकलन

याङ्जा, २ साउन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८३/०८४ को असार महिनामा सम्पादन गरेका विभिन्न कार्य तथा शान्ति सुरक्षाको प्रगति विवरण सार्वजनिक गरेको छ । सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (DSP) रमेश दत्त अवस्थीद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार असार महिनामा जिल्लाभर विभिन्न प्रकृतिका २७ वटा मुद्दा दर्ता भएका छन् भने अपराध अनुसन्धान र नियन्त्रणका क्षेत्रमा प्रहरीले उल्लेख्य सफलता हासिल गरेको छ । मुद्दा दर्ता र कारबाहीको अवस्था असार महिनामा दर्ता भएका कुल २७ वटा मुद्दाहरूमध्ये जघन्य तथा गम्भीर अपराधतर्फ ३, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ६, आर्थिक अपराधतर्फ १ र अन्य विधामा १७ वटा मुद्दा दर्ता भएका छन् । यी मुद्दाहरूमा संलग्न कुल २१ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।

यस्तै, फैसला कार्यान्वयनतर्फ चोरी, लागुऔषध, सार्वजनिक अपराध, बहुविवाह र लेनदेन मुद्दाका फरार प्रतिवादीहरू पक्राउ परेका छन् । उनीहरूबाट कुल १ वर्ष ३ महिना २६ दिन कैद भुक्तान र ३ लाख २८ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।

मुख्य अपराध तथा अनुसन्धान प्रहरीले असार महिनामा घटेका दुईवटा मुख्य घटनाको सफल अनुसन्धान गरेको जनाएको छ:

१. मोटरसाइकल चोरी: गत असार ३ गते पुतलीबजार नगरपालिका–२ दुर्गानगरबाट ग.९प ६१४० नम्बरको क्रसफायर मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न पोखरा–१७ छोरेपाटन बस्ने २३ वर्षीय दिपेश गुरुङलाई असार १२ गते पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

२. लागुऔषध बरामद: असार ३२ गते राति सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका–१ राम्दीस्थित चेकिङ टोलीले बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग.२ख १९५२ नम्बरको बसमा सवार पोखरा–५ का ४० वर्षीय नरेन्द्र आचार्य र ३४ वर्षीय सुरज प्याकुरेलको साथबाट नियन्त्रित लागुऔषध Buprenorphine ३१ एम्पुल, Phenergan ३० एम्पुल, र Diazepam २९ एम्पुल बरामद गरेको छ । निजहरूलाई ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

 

महिला, बालबालिका तथा घरेलु हिंसा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ असार महिनामा २ वटा उजुरी परेका थिए, जसमा ४ जना पीडक संलग्न थिए । यसैगरी, घरेलु हिंसातर्फ शारीरिक र मानसिक/आर्थिक प्रकृतिका १–१ गरी २ वटा उजुरी परेकोमा दुवैमा मिलापत्र गराइएको छ । जिल्लाभर सबैभन्दा धेरै हिंसाका घटना पुतलीबजार र वालिङ नगरपालिकामा घटेका छन् । यसै अवधिमा ११ जना (५ महिला, ३ पुरुष, ३ बालबालिका) हराएकोमा ७ जनालाई फेला पारिएको प्रहरीले जनाएको छ । ठाडो उजुरीतर्फ प्राप्त ३० वटा निवेदनमध्ये २८ वटा फछ्र्यौट भइसकेका छन् ।

आत्महत्याको तथ्याङ्क

असार महिनामा स्याङ्जामा कुल ४ जनाले आत्महत्या गरेका छन्, जसमा ३ जना पुरुष र १ जना महिला रहेका छन् । आत्महत्या गर्नेहरूमा झुन्डिएर ३ जना र आगो लगाएर १ जना रहेका छन् । उमेर समूहका आधारमा ४० वर्ष मुनिका १ जना, ६० वर्ष मुनिका १ जना र ६० वर्षभन्दा माथिका २ जना रहेका छन् ।

शान्ति सुरक्षा, प्राकृतिक स्रोत र राजस्व

प्रहरीले एक महिनाको अवधिमा जिल्लाभर पिकेट, चेकिङ, ग्रामिण गस्ती, LRP, SRP गरी कुल १७५१ वटा नियमित प्रहरी टोली परिचालन गरेको थियो । सवारी दुर्घटनातर्फ २ वटा घटनामा प्रहरीले उद्दार गरेको छ भने १,४९२ वटा कारबाहीबाट १३ लाख ३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ । यस्तै, भन्सार छलीतर्फ २ लाख २ हजार ९९४ रुपैयाँ बराबरको मोटर पार्टस बरामद गरिएको छ । प्राकृतिक सम्पदा दोहनतर्फ मापदण्ड विपरीत चलेका ३ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिई २३ हजार रुपैयाँ जरिवाना गरिएको छ भने पशु पंक्षी अवैध ओसारपसारमा संलग्न २ वटा सवारीमाथि मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

विपद् व्यवस्थापन र सचेतना कार्यक्रम

वर्षातको समयमा जिल्लामा २० वटा बाढीपहिरो, २ वटा आगलागी र १ वटा चट्याङका घटना घटेका छन् । विपद्बाट २ जनाको मृत्यु भएको छ भने प्रहरीले २० वटा घटनामा उद्दार कार्य गर्दै २३५ जना प्रहरी कर्मचारी खटाएको थियो । प्रहरीले अपराध न्यूनीकरणका लागि समुदाय र विद्यालय केन्द्रित सचेतना कार्यक्रमहरूलाई तीव्रता दिएको छ । लागुऔषध (८६ पटक, १६४२ सहभागी), सडक सुरक्षा (७ पटक, २१३ सहभागी), साइबर अपराध (५ पटक, १४० सहभागी) लगायतका शीर्षकमा जिल्लाभर विभिन्न स्थानमा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।

नवीनतम कार्यहरू (QR Code र Sweep Operation)

स्याङ्जा प्रहरीले नवप्रवर्द्धनात्मक कार्यअन्तर्गत जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि पर्यटकीय स्थलहरू र सडक सुरक्षासम्बन्धी जानकारीमूलक लिखित (नेपाली/अंग्रेजी) तथा अडियो साउण्डसहितको QR Code तयार गरी प्रचलनमा ल्याएको छ । साथै, अवैध लागुऔषध नियन्त्रण गर्न राजमार्गमा 'स्वीप अपरेसन' र तालिमप्राप्त कुकुरसहितको गस्ती परिचालन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस