कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

स्याङ्जामा ८२.२९ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

स्याङ्जामा असार मसान्तसम्म ८२.२९ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। जिल्लाका उत्तरी भेगका अधिकांश पालिकामा रोपाइँ सकिए पनि दक्षिण–पश्चिमी भेगका केही क्षेत्रमा भने अझै रोपाइँ भैरहेको ।
कृषि विकास कार्यालय स्याङ्जाका कृषि अधिकृत नारायण पाठकका अनुसार जिल्लामा धान रोपाइँ हुने अनुमानित १३ हजार ६८५ हेक्टर क्षेत्रफलमध्ये ११ हजार २५० हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।
कार्यालयका अनुसार कालीगण्डकी नदी आसपासका चापाकोट र गल्याङ नगरपालिकाका फाँट, ज्याग्दीखोला तथा आँधीखोला किनारका क्षेत्रहरूमा अहिले पनि रोपाइँ भइरहेको छ।
उत्तरी भेगमा असारभित्रै रोपाइँ सम्पन्न गर्ने चलन रहेकाले त्यहाँ काम सकिएको हो भने दक्षिण–पश्चिमी भेगमा साउनको मध्यसम्म पनि रोपाइँ गर्ने परम्परा भएकाले अझै केही क्षेत्र बाँकी रहेको कृषि अधिकृत पाठकले बताउनुभयो।
कृषि प्राविधिकबाट प्राप्त विवरणअनुसार उत्तरी भेगमा रोपाइँ लगभग सम्पन्न भइसकेको र दक्षिण तथा पश्चिमी भेगमा जारी रहेकाले जिल्लाभर औसतमा ८२.२९ प्रतिशत रोपाइँ सम्पन्न भएको उहाँले जानकारी दिनुभयो। केही दिनभित्र जिल्लाभर रोपाइँ सकिने अपेक्षा गरिएको छ।
यस वर्ष निरन्तर वर्षा भइरहेकाले धानखेती हुने क्षेत्रमा सिँचाइको समस्या नरहेको कार्यालयले जनाएको छ। स्याङ्जाका चापाकोट टार, जिमुहा, पकान, डौँवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेबास तथा आँधीखोला, ज्याग्दीखोला र दरौँखोला आसपासका क्षेत्र धान उत्पादनका प्रमुख पकेट क्षेत्र हुन्।
जिल्लामा पछिल्ला वर्षहरूमा उन्नत जातका धानको खेती बढ्दै गएको छ। किसानले रामधान, सावित्री, सुनौलो सुगन्ध, सामा मन्सुली लगायतका उन्नत जात तथा च्याम्पियनजस्ता हाइब्रिड धान रोप्ने गरेका छन्।

बढ्दो सहरीकरण, सडक विस्तार तथा घरघडेरी निर्माणका कारण खेतीयोग्य जमिन घट्दै गएको कृषि विकास कार्यालयले जनाएको छ। त्यसका कारण धान रोपाइँ हुने क्षेत्रफल पनि वर्षेनी घट्दै गएको कार्यालयको भनाइ छ।

प्रतिकृया दिनुहोस