स्याङ्जामा भर्खरै रोपेको धानमा खपटे किराको संक्रमण
स्याङ्जाको पुतलीबजार नगरपालिकाभित्र रहेका धानखेतिमा खपटे किरा देखिएको छ । नगरपालिकाको कृषि विकास शाखाबाट गरिएको नियमित अनुगमनका क्रममा विभिन्न स्थानका धान खेतमा काँडेदार खपटे किराले धानको पातहरु सुकेको जस्तो देखिएको भन्दै सचेत रहन कृषकलाई सुझाव दिएको हो । यो किराको लार्भा र वयस्क दुवैले धानको पातको हरियो भाग कोतरेर खाने, सेता धर्साहरू बनाउने र पात सुकाएर बिरुवाको वृद्धि रोक्ने गर्दछ ।
नगरपालिका कृषि अधिकृत सुष्मा पनेरुका अनुसार भर्खर भर्खर रोपेका धानखेतिमा किराको प्रकोप देखिएपछि कृषकले नगरपालिका कृषि साखालाई खबर गरेका थिए । नगरपालिकाको कृषि प्राविधिक सहितको टोलीले वडा नं. ४ को लामागेमा स्थलगत अनुगमन समेत गरेको साखा अधिकृत पनेरुले बताउनुभयो । खपटे किरा देशका विभिन्न जिल्लाहरमा पनि देखिएको र स्याङ्जाको पुतलीबजार नगरपालिकाको वडा नं. ४ सहित १३ र १४ वडाका विभिन्न स्थानका धान खेतिमा समेत खपटे किराले धानका पातहरु खाईदिने समस्या देखिएको र सोहि अनुसार साखाले प्राविधिक सल्लाह कृषकलाई दिईएको उहाँले बताउनुभयो ।
यो किराबाट धानखेतिलाई जोगाउन धान खेतको नियमित निरीक्षण गरी किराको प्रारम्भिक पहिचान गर्ने, खेत र वरपरका झारपातहरू पूर्ण रूपमा हटाउने, खपटे किराको समस्या भर्खरै देखिएका खेतहरुमा निमयुक्त विषादी (एजाडिरेक्टिन ०.०३% २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्न सकिने नगरपालिका कृषि साखाले जनाएको छ ।
विषादी छर्दा मास्क, पञ्जा र चस्मा अनिवार्य लगाउने, हावा कम चलेको समय (बिहान वा बेलुकी) मात्र विषादी प्रयोग गर्न सुझाईएको छ । अलि धेरै नै किराको प्रकोप देखिएमा सिफारिस गरिएका कीटनाशक जस्तैः लाम्डासाइहेलोथ्रिन ५% (०.५ मि.लि.) वा मालाथियन ५०% (१.५ मि.लि.) प्रति लिटर पानीमा मिसाई छर्कदाँ खपटे किराको प्रकोपबाट बच्न सकिने नगरपालिका कृषि साखाले जनाएको छ ।











प्रतिकृया दिनुहोस