कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

चापाकोटमा अविरल वर्षापछि धनसार सहितको गोठ भत्किँदा ६ वटा बाख्रा मरे


स्याङ्जाको चापाकोट नगरपालिकामा अविरल वर्षाका कारण धनसारसहितको कच्ची गोठ भत्किँदा ६ वटा बाख्राको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार चापाकोट नगरपालिका–३, कमिरे निवासी ४२ वर्षीय प्रेम सारु मगरको टिनले छाएको ढुङ्गा–माटोले बनेको धनसारसहितको कच्ची गोठ अविरल वर्षाका कारण भत्किएको हो।
गोठ भत्किएसँगै त्यहाँ बाँधिएका ६ वटा बाख्रा पुरिएर घटनास्थलमै मरेका प्रहरीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
प्रहरीका अनुसार गोठभित्र राखिएको सिलाइ मेसिन, फर्निचरका सामान तथा लत्ताकपडासमेत पुरिएको छ। भौतिक क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर आवश्यक जानकारी संकलन तथा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। साथै क्षतिको थप विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो, घर तथा गोठ भत्किने लगायतका घटना बढ्न सक्ने भएकाले जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउनसमेत सम्बन्धित निकायले आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस