प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले शुक्रबार गल्याङमा नागरिकसँग अन्तरक्रिया गर्ने
स्याङ्जा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले शुक्रबार स्याङ्जाको गल्याङ नगरपालिकाको भ्रमणमा आउने कार्यक्रम तय भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी गल्याङ नगर समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार उहाँले दिनभर विभिन्न सरकारी निकाय, जनप्रतिनिधि तथा स्थानीय नागरिकसँग भेटघाट, अन्तरक्रिया र छलफल गर्नुका साथै वर्षाका कारण क्षति पुगेका क्षेत्रको स्थलगत निरीक्षणसमेत गर्नुहुनेछ।
निर्धारित कार्यक्रमअनुसार बिहान १० बजे राष्ट्रिय स्वतन्त्र पार्टी गल्याङ नगर समितिको चिन्नेपानीस्थित कार्यालयमा स्वागत कार्यक्रम आयोजना गरिएको छ। त्यसपछि बिहान १०ः३० बजेदेखि ११ः३० बजेसम्म गल्याङ प्रहरी चौकीमा प्रहरीसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
दिउँसो १२ बजे गल्याङ नगरपालिकामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा अन्य जनप्रतिनिधिसँग भेटघाट र विकास निर्माण, सेवा प्रवाह तथा स्थानीय आवश्यकताका विषयमा छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसपछि दिउँसो १ः३० बजे डुम्रे गल्याङ नगरपालिका ६ पातीखर्कमा दुखभेट गर्न तथा पिढीखोला क्षेत्रमा अविरल वर्षाका कारण भएको क्षतिको स्थलगत निरीक्षणका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी गल्याङ नगर समितिले जनाएको छ। निरीक्षणका क्रममा स्थानीयसँग भेटघाट गरी समस्या बुझ्ने र सम्बन्धित निकायसँग आवश्यक समन्वयका लागि पहल गर्ने अपेक्षा गरिएको छ।
दिनभरका कार्यक्रमपछि साँझ ५ बजे राष्ट्रिय स्वतन्त्र पार्टी गल्याङ नगर समितिको कार्यालय परिसरमा नागरिक तथा शुभेच्छुकसँग खुला भेटघाट एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा स्थानीय बासिन्दाले आफ्नो क्षेत्रका समस्या, विकासका आवश्यकता, सुझाव, सल्लाह तथा जिज्ञासा प्रत्यक्ष रूपमा प्रतिनिधिसभा सदस्य डुम्रेसमक्ष राख्न सक्ने व्यवस्था गरिएको समितिले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी गल्याङ नगर समितिले कार्यक्रममा सबै नागरिक, शुभेच्छुक तथा सरोकारवालालाई उपस्थित भई आफ्नो अमूल्य सुझाव, सल्लाह र धारणा राख्न आग्रह गरेको छ। समितिका अनुसार नागरिकसँग प्रत्यक्ष संवाद गर्दै स्थानीय तहका आवश्यकता, विकासका प्राथमिकता र जनचासोका विषयलाई नजिकबाट बुझ्ने उद्देश्यले भ्रमण कार्यक्रम तय गरिएको हो।









प्रतिकृया दिनुहोस