कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

गल्याङमा घटना दर्ता प्रविधिमैत्री बन्दै

स्याङ्जाको गल्याङ नगरपालिकाले व्यक्तिगत घटना दर्ता प्रणालीलाई प्रविधिमैत्री, छिटो, सहज र विश्वसनीय बनाउने उद्देश्यसहित आइआरआइएस डिभाइस जडान, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा नवीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ।
नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सचिव, सम्बन्धित शाखाका कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य व्यक्तिगत घटना दर्ता अन्तर्गत जन्म, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेद तथा मृत्यु दर्तालाई आधुनिक प्रविधिसँग जोड्दै सेवाग्राहीको सही पहिचान सुनिश्चित गर्नु रहेको नगरपालिकाले जनाएको छ। साथै सामाजिक सुरक्षा भत्ता नवीकरण प्रक्रियालाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने तथा आइआरआइएस प्रणालीको प्रयोग, सञ्चालन र व्यवस्थापनबारे सम्बन्धित जनप्रतिनिधि तथा कर्मचारीलाई आवश्यक जानकारी र सीप प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको हो।
कार्यक्रममा आइआरआइएस प्रविधिको प्रयोगबाट सेवाग्राहीको जैविक विवरण मार्फत पहिचान प्रमाणीकरण हुने भएकाले घटना दर्ता तथा सामाजिक सुरक्षा वितरण प्रणाली अझ विश्वसनीय बन्ने जानकारी दिइएको थियो। यस प्रविधिले सेवा प्रवाहलाई छरितो बनाउनुका साथै दोहोरो अभिलेख, त्रुटि तथा अनियमितता नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।


कार्यक्रममा गल्याङ नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले प्रविधिको अधिकतम प्रयोगबाट स्थानीय सरकारको सेवा अझ नागरिकमैत्री बन्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “प्रविधिमैत्री सेवा अहिलेको आवश्यकता हो । नागरिकले छिटो, सहज र भरपर्दो सेवा पाउनुपर्छ ।’
उपप्रमुख न्यौपानेले सेवाग्राहीलाई अनावश्यक झन्झटबाट मुक्त गराउनु आफुहरुको प्राथमिकता भएको भन्दै जनप्रतिनिधि र कर्मचारीले नयाँ प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्रविधिको सही प्रयोगले सेवा प्रवाहमा पारदर्शिता बढ्नुका साथै नागरिकको विश्वास पनि मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले आइआरआइएस प्रणालीले स्थानीय तहको सेवा प्रवाहलाई थप व्यवस्थित र गुणस्तरीय बनाउने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘यो प्रणालीले सेवाग्राहीको सही पहिचान सुनिश्चित गर्छ । सामाजिक सुरक्षा नवीकरण प्रक्रिया अझ प्रभावकारी हुनेछ ।’
उहाँले प्रविधिको सही प्रयोगले त्रुटि र दोहोरो अभिलेख न्यूनीकरण हुने भन्दै कर्मचारीहरूले प्रणालीलाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा आइआरआइएस डिभाइसको प्रयोग विधि, व्यक्तिगत घटना दर्ताको डिजिटल प्रक्रिया, सामाजिक सुरक्षा नवीकरणको कार्यप्रणाली तथा प्रणाली सञ्चालनका प्राविधिक पक्षबारे सहजीकरण गरिएको थियो। सहभागीहरूले प्रणालीको प्रयोग सम्बन्धी जिज्ञासा राखेका थिए भने प्रशिक्षकहरूले त्यसको व्यवहारिक प्रदर्शनसहित उत्तर दिएका थिए।
गल्याङ नगरपालिकाले आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार गर्दै नागरिकलाई सरल, छिटो, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस