कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

शुल्क वृद्धि फिर्ता लिन गल्याङ चेम्बर अफ कमर्सको माग

सांकेतिक तस्विर ए आइबाट

गल्याङ । गल्याङ चेम्बर अफ कमर्सले ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने ग्राहकको विद्युत् महसुलमा बुटवल पावर कम्पनिले गरेको शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।
चेम्बरले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा बुटवल पावर कम्पनी लिमिटेडले साउन १ गतेदेखि लागू हुने गरी ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने प्राकृतिक व्यक्तिको महसुलमा ५ प्रतिशत तथा अन्य विद्युत् उपभोग गर्ने ग्राहकको हकमा १३ प्रतिशतसम्म महसुल वृद्धि गर्ने सूचना सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा सरकारले कर थोपरेको आधारमा प्रभावित नागरिकका लागि यसरी एकतर्फी रूपमा सूचना प्रकाशन गरिनु आपत्तिजनक रहेको उल्लेख गरिएको छ। यस्तो निर्णयले सर्वसाधारण उपभोक्ता, उद्योगी, व्यवसायी र व्यापारी सबैलाई प्रत्यक्ष आर्थिक भार पर्ने चेम्बरको भनाइ छ।
गल्याङ चेम्बर अफ कमर्सले आफू उद्योगी–व्यवसायीको हितका लागि मात्र नभई आम उपभोक्ताको हित संरक्षणका लागि पनि निरन्तर सक्रिय रहेको जनाएको छ। यसअघि २०८१ सालमा बुटवल पावर कम्पनी लिमिटेड, आँधिखोला वितरण केन्द्रले ग्राहकको हितविपरीत निर्णय गर्दा चेम्बरले त्यसविरुद्ध आन्दोलन गरी निर्णय सच्याउन सफल भएको घटनासमेत विज्ञप्तिमा स्मरण गरिएको छ।
हाल मुलुक आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा सेवा–सुविधामा कुनै सुधार नगरी सरकारको भ्याटको नाममा उपभोक्तामाथि शुल्क वृद्धि गर्नु उपयुक्त नभएको चेम्बरको ठहर छ। सरकारबाट प्राप्त सुविधा वा स्वीकृतिको आडमा उपभोक्तामाथि थप आर्थिक भार थोपर्न नहुने चेम्बरले जनाएको छ।
चेम्बरले बुटवल पावर कम्पनी लिमिटेड तथा आँधिखोला वितरण केन्द्रलाई प्रभावित क्षेत्रका ग्राहकका लागि साविककै महसुल कायम राख्न आग्रह गर्दै विद्युत् महसुल वृद्धिको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
साथै, उद्योगी, व्यवसायी, व्यापारी र आम उपभोक्ताको साझा हितका पक्षमा आवश्यक परे थप संघर्षका कार्यक्रम सञ्चालन गर्नसमेत आफूहरू तयार रहेको चेतावनी चेम्बरले दिएको छ।
गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष पूर्ण बहादुर रानाभाट (अर्जुन) द्वारा हस्ताक्षरित विज्ञप्तिमा उपभोक्तामैत्री निर्णय गर्दै विद्युत् महसुल वृद्धि फिर्ता लिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस