कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

स्याङ्जाको चापाकोटमा चापाकोट क्रिकेट लिग सुरु

 चापाकोट । स्याङ्जाको चापाकोट नगरपालिकामा शनिबारदेखि प्रथम ‘चापाकोट क्रिकेट लिग’ सुरु भएको छ । चापाकोट नगरपालिका–९ सुन्तलीटारस्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईले गर्नुभएको हो ।
चापाकोट नगर क्रिकेट संघको आयोजना तथा नगरपालिकाको संरक्षकत्वमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटनमा सांसद भट्टराईले खेलकुदले युवालाई अनुशासित, जिम्मेवार र सकारात्मक दिशातर्फ अग्रसर गराउने बताउनुभयो । 

उहाँले ग्रामीण क्षेत्रमा क्रिकेटप्रति युवाको बढ्दो आकर्षण उत्साहजनक रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले खेलाडी उत्पादनसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राख्नुभयो ।
उहाँले खेल क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताउँदै स्थानीय तह, प्रदेश सरकार र सरोकारवालाबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । “खेलकुद केवल मनोरञ्जनको माध्यम मात्रै होइन, यसले स्वास्थ्य, अनुशासन र नेतृत्व विकासमा समेत महत्वपूर्ण भूमिका खेल्छ,” उहाँले भन्नुभयो ।
सांसद भट्टराईले चापाकोटमा पहिलो पटक व्यवस्थित रूपमा क्रिकेट लिग आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा प्रतियोगितालाई अझै व्यापक र स्तरीय बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले खेलाडीलाई खेल भावना कायम राख्दै उत्कृष्ट प्रदर्शन गर्न आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा चापाकोट नगरपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खेलप्रेमी, स्थानीयवासी तथा युवा खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो । 
कार्यक्रमको अध्यक्षता गर्नुभएका चापाकोट नगर क्रिकेट संघका अध्यक्ष प्रेमनारायण रेग्मीले प्रतियोगितामार्फत स्थानीय स्तरमा क्रिकेट खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा युवालाई खेलमार्फत सकारात्मक गतिविधिमा जोड्ने उद्देश्य राखिएको बताउनुभयो । 

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला खेलकुद विकास संघको कोषाध्यक्ष धिरज खाँडले राख्नुभएको थियो भने कार्यक्रमको संचालन भुवन भण्डारीले गर्नुभएको थियो । 
यसैबीच, शनिबार भएको उद्घाटन खेलमा साँखर वारियरले विजयी भएको छ । 

ह्वाइट हर्षलाई १९ रनले पराजित गर्दै साँखर वारियरले प्रतियोगितामा खाता खोलेको हो । 
पहिले व्याटिङ गरेको साँखर वारियर्सले निर्धारित २० ओभरमा एक सय ६८ रनको विजय लक्ष्य पेश गरेको थियो । 
जवाफी ब्याटिङ गरेको ह्वाइट हर्स १९ दशमबल चार ओभरमा एक सय ४९ रन बनाउँदा अल आउट हुन पुग्यो ।
‘मुन लाइट ग्रुप’ प्रथम चापाकोट क्रिकेट लिग नाम दिइएको प्रतियोगिता जेठ २ गतेसम्म संचालन हुनेछ । 

लिग चरणपछि शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच सेमिफाइनल खेल हुनेछ ।
प्रतियोगितामा ह्वाइट हर्ष, गण्डकी फायर, साँखर वरियर, कुवाकोट युथ स्टार र रोयल आँधीखोला गरी पाँच टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले एक लाख १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडी तथा विभिन्न विधामा पनि पुरस्कार प्रदान गरिने अध्यक्ष रेग्मीले बताउभयो । 

स्थानीय तहमा क्रिकेटप्रति आकर्षण बढाउँदै नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।

प्रतिकृया दिनुहोस