प्रथम चापाकोट क्रिकेट लिगको उपाधि गण्डकी फायरलाई
चापाकोट । स्याङ्जाको चापाकोटमा भएको चापाकोट क्रिकेट लिग ‘सीसीएल’ को उपाधि गण्डकी फायरले जितेको छ । चापाकोट नगरपालिका ९ मा रहेको गंगालाल माविको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा गण्डकी फायरले साँखर वरियरलाई ५० रनले पराजित गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी फायरले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएका थियो । गण्डकी फायरका लागि उत्कृष्ट ब्याटिङ गरेका विकल क्षेत्रीले ४३ बलमा अविजित ८४ रन बनाए । त्यसै स्वन्पिल भट्टराई १८, विशाल कोइराल १५ र मोहित अधिकारीले ८ रन बनाए ।
वलिङमा साँखर वरियरका सूर्य विकले तीन विकेट, नेल्सन थापाले दुई, महेश गोदार र सुदीप वस्नेतले समान एक–एक विकेट लिएका थिए ।
१५८ रनको लक्ष्य लिएर जवाफि ब्यटिङमा उत्रिएको साँखर वरियरका महेश गोदार २५, राम बस्ताकोटी १७, मनिराम भट्टराई १२ बनाए । साँखर वरियरका अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
वलिङतर्फ गण्डकी फायरका सुजन बस्याल र स्वन्पिल भट्टराईले समान दुई दुई विकेट लिए । त्यसैगरी रामचन्द्र ढकाल, सुशिल गौतम, विकल क्षेत्री, प्रदिप घर्ती र विशाल कोइरालाले समान एक एक विकेट लिए ।
उपाधि जितेसँगै गण्डकी फायरले नगद एक लाख १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता भएको साँखर वरियरले ६० हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र गरेको छ ।
गण्डकी फायर लिग चरणका सम्पुर्ण खेलमा बिजेता हुँदै सोझै प्रवेश गरेको थियो भने साँखर वरियरले कुवाकोट युथ स्टारलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा ह्वाइट हर्ष, गण्डकी फायर, साँखर वरियर, कुवाकोट युथ स्टार र रोयल आधिँखोला गरी पाँच समुहले सहभागिता जनाएका थिए ।
मुन लाइट गुप्रले चापाकोट क्रिकेट लिगको मुख्य प्रायोजन गरेको थियो ।
चापाकोट नगर क्रिकेट संघको आयोजना तथा चापाकोट नगरपालिकाको संरक्षकत्वमा “चापाकोट क्रिकेट लिग” गंगालाल माविको खेलमैदानमा वैशाख २६ देखि प्रतियोगिता सुरु भएको थियो ।
समापनको दिन आयोजित कार्यक्रममा चापाकोट नगरपालिका प्रमुख देब बहादुर खाँड ‘इश्वर’ ले स्थानीय खेलाडीको प्रतिभा पहिचान गर्न प्रतियोगिता महत्वपूर्ण भएको बताउनुभयो ।
समापनको अवसरमा नगर उपप्रमुख इशा राना, प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइराला तथा वडा अध्यक्षहरुले प्रमाणपत्र, पुरस्कार, सम्मानपत्र तथा मायाको चिनो वितरण गर्नुभएको थियो ।
आयोजक चापाकोट नगर क्रिकेट संघका अध्यक्ष प्रेमनारायण रेग्मीले सबैको साथ र सहयोगले प्रतियोगिता भव्य रुपमा सफल भएको बताउनुभयो ।


.jpeg)








प्रतिकृया दिनुहोस