कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

चापाकोट क्रिकेट लिगमा कुवाकोट युथ स्टार र गण्डकी फायरको जित 

चापाकोट  । स्याङ्जाको चापाकोट नगरपालिकामा जारी प्रथम ‘चापाकोट क्रिकेट लिग’ मा कुवाकोट युथ स्टार र गण्डकी फायरले जित निकालेका छन् । 
सोमबार भएका दुई खेलमा कुवाकोट युथ स्टार र गण्डकी फायर विजयी भएका हुन् । 

चापाकोट नगरपालिका–९ सुन्तलीटारस्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा भएको सोमबारको पहिलो खेलमा गण्डकी फायरले शाखर वारियर्सलाई ३८ रने पराजित गरेको छ । पहिले ब्याटिङ गरेको गण्डकी फायरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७७ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको शाखर वारियर्स २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रनमा समेटियो ।
यस्तै, सोमबार नै भएको दोस्रो खेलमा कुवाकोट युथ स्टारले रोयल आँधिखोलालाई ५९ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको कुवाकोटले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएकोमा रोयल आँधिखोला वालिङले १२ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर ७३ रन मात्रै बनाउन सक्यो । 

‘मुन लाइट ग्रुप’ प्रथम चापाकोट क्रिकेट लिग नाम दिइएको प्रतियोगिता जेठ २ गतेसम्म संचालन हुनेछ । 
लिग चरणपछि शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच सेमिफाइनल खेल हुनेछ ।

प्रतियोगितामा ह्वाइट हर्ष, गण्डकी फायर, साँखर वरियर, कुवाकोट युथ स्टार र रोयल आँधीखोला गरी पाँच टोलीको सहभागिता रहेको छ । 

प्रतियोगितामा दुबै खेल जितेको गण्डकी फायर शिर्ष स्थानमा छ भने एक एक खेल जितेका कुवाकोट, आँधिखोला र शाखर क्रमश दोश्रो तेस्रो र चौथो स्थानमा छन् । दुई खेल नै पराजित भएको ह्वाइट हर्स भने अंक तालिकाको अन्तिम स्थानमा छ ।
प्रतियोगिताको विजेताले एक लाख १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडी तथा विभिन्न विधामा पनि पुरस्कार प्रदान गरिने अध्यक्ष प्रेमनारायण रेग्मीले बताउनुभयो ।

स्थानीय तहमा क्रिकेटप्रति आकर्षण बढाउँदै नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।

प्रतिकृया दिनुहोस