स्याङ्जामा ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ
स्याङ्जा — स्याङ्जामा साउन दोस्रो सातासम्म ९० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। जिल्लाको उत्तरी भेगका अधिकांश क्षेत्रमा रोपाइँ सकिए पनि दक्षिण-पश्चिमी क्षेत्रका केही फाँटहरूमा भने अझै रोपाइँ जारी छ।
जिल्लामा धान रोपाइँ हुने अनुमानित १३ हजार ६८५ हेक्टर क्षेत्रफलमध्ये १२ हजार ३१५ हेक्टरमा रोपाइँ सकिएको कृषि विकास कार्यालय स्याङ्जाले जनाएको छ। उत्तरी भेगमा असारभित्रै रोपाइँ सकिए पनि दक्षिण-पश्चिमी क्षेत्रमा साउन मध्यसम्म रोपाइँ गरिने भएकाले केही क्षेत्रफलमा काम बाँकी रहेको कार्यालयको भनाइ छ।
कृषि प्राविधिकहरूबाट प्राप्त विवरणका आधारमा जिल्लाभर औसतमा १० प्रतिशत क्षेत्रमा मात्र रोपाइँ हुन बाँकी छ।
कुन-कुन क्षेत्रमा सकियो, कहाँ हुँदैछ?
उत्तरी भेगका फेदीखोला, पुतलीबजार, आँधीखोला, अर्जुनचौपारी र भीरकोटका धान उत्पादन हुने क्षेत्रहरूमा लगभग रोपाइँ सकिएको छ। कालीगण्डकी नदी आसपासका चापाकोट टार, गल्याङ, जिमुवा, मिर्मी, बिर्घा, ज्याग्दीखोला तथा आँधीखोला किनार क्षेत्रका किसानहरू भने यतिबेला रोपाइँमा व्यस्त छन्।
मौसम अनुकूल रहेकाले बाँकी क्षेत्रको रोपाइँ पनि केही दिनभित्रै सकिने कार्यालयले जनाएको छ। यस वर्ष नियमित वर्षा भएकाले अधिकांश धानखेतमा सिँचाइको समस्या नभएको कार्यालयका कृषि अधिकृत नारायण पाठकले जानकारी दिए। जिल्लाका चापाकोट टार, साँखर, जिमुहा, पकान, डौँवा, सातुपसल, लामागे, ठुलीबेँसी, बिरुवा तथा आँधीखोला, ज्याग्दीखोला र दरौँखोला आसपासका क्षेत्र प्रमुख धान उत्पादन पकेट क्षेत्र मानिन्छन्।
उन्नत तथा रैथाने जाततर्फ आकर्षण
स्याङ्जामा पछिल्ला वर्षहरूमा उन्नत जातका धानप्रति किसानको आकर्षण बढ्दै गएको छ। पछिल्लो समय रामधान, सावित्री, सुनौलो सुगन्ध, सामामन्सुलीलगायत उन्नत जातका धान लगाउने गरिएको छ। ‘च्याम्पियन’ जस्ता हाइब्रिड धानको खेती विस्तार हुँदै गए पनि रैथाने अनदी, काला र नमक जातका धान लगाउन पनि छाडिएको छैन।
सहरीकरण र मल अभावको चुनौती
अर्कातिर, बढ्दो सहरीकरण, सडक विस्तार र घरघडेरी निर्माणका कारण खेतीयोग्य जमिन वर्षेनी घट्दै गएको कार्यालयले जनाएको छ। त्यसको प्रत्यक्ष असर धान रोपाइँ हुने क्षेत्रफलमा परेको छ भने वर्षेनी धान खेती हुने जमिन क्रमशः खुम्चिँदै गएको छ। धान खेती हुने क्षेत्रफल घट्दै जानु र समयमै रासायनिक मल नपाउनुले उत्पादन तथा उत्पादकत्वमा ह्रास आउँदै गएको छ।











प्रतिकृया दिनुहोस