फेदीखोलामा कोदो खेती प्रवर्द्धन: किसानलाई आकर्षक अनुदान
(स्याङ्जा) — स्याङ्जाको फेदीखोला गाउँपालिकाले रैथाने बालीको संरक्षण र उत्पादन वृद्धिलाई प्राथमिकता दिँदै दोस्रो ‘राष्ट्रिय कोदो दिवस’ मनाएको छ। दिवसका अवसरमा गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देउकुमारी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलसहितको टोली बहाँटारीस्थित किसानको बारीमै पुगेर बीउ हस्तान्तरण गर्नुका साथै रोपाइँमा प्रत्यक्ष सहभागी भएको थियो। रोपाइँसँगै आयोजित कार्यक्रममा स्थानीय रैथाने बाली कोदोको संरक्षण, उत्पादन विस्तार तथा यसको पोषणयुक्त महत्वबारे व्यापक छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले स्थानीय बालीको प्रवर्द्धनका लागि पालिकाले प्रोत्साहनमूलक योजनाहरू अघि सारेको बताउनुभयो। उहाँका अनुसार नयाँ पुस्तालाई रैथाने बालीको महत्वबारे सचेत गराउन गाउँपालिकाभित्रका सबै विद्यालयमा हप्ताको एक दिन कोदोका परिकार खाजाका रूपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ भने कक्षा ६ को स्थानीय पाठ्यक्रममा यसको उपयोगितासम्बन्धी विषयवस्तु नै समावेश गरिएको छ।
कृषकलाई कोदो खेतीतर्फ आकर्षित र प्रोत्साहित गर्न गाउँपालिकाले विभिन्न अनुदानको समेत व्यवस्था गरेको छ। जसअन्तर्गत बाँझो जमिनमा कोदो खेती गर्ने कृषकलाई प्रतिरोपनी तीन हजार रुपैयाँ नगद अनुदान, प्राङ्गारिक खेती र परम्परागत प्रविधिलाई प्रोत्साहन गर्न हलगोरु पाल्ने कृषकलाई १० हजार रुपैयाँ तथा कोदो चुट्ने मेसिन खरिदमा ५० प्रतिशत अनुदान दिँदै आइएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो।
कुनै समय ‘गरिबको खाना’ का रूपमा मात्र हेरिने कोदोमा फाइबर, क्याल्सियम, आइरन र प्रोटिनजस्ता पोषक तत्त्व प्रशस्त पाइने भएकाले पछिल्लो समय स्वास्थ्यप्रति सजग सबै वर्गका मानिसहरूमा यसको माग ह्वात्तै बढेको छ। सो अवसरमा स्थानीय कृषक तथा महिला समूहहरूले कोदोको पीठोबाट निर्मित सेलरोटी, पुरी, मःम, केक, खुर्मा, तावा रोटी, सुप, अचार र खोलेलगायत १४ प्रकारका स्वादिष्ट परिकारहरू प्रदर्शन एवम् पस्किएका थिए। गाउँपालिकाको यस अभियानले ओझेलमा परेको रैथाने बालीको जगेर्ना हुनुका साथै कृषकको आयआर्जन र पोषण सुरक्षामा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ। 











प्रतिकृया दिनुहोस