स्याङ्जामा नेपाल बैंकको आधुनिक भवन बन्दै
स्याङ्जा — स्याङ्जामा नेपाल बैंक लिमिटेडको शाखा कार्यालय भवन बन्ने भएको छ। जिल्ला सदरमुकामस्थित पुतलीबजार नगरपालिका वडा नं. १ को ठाडोलाइनमा बैंकको सुविधासम्पन्न स्याङ्जा शाखाको नयाँ भवन बन्ने भएको हो।
तीन करोड सात लाख रुपैयाँको लागतमा भवन निर्माण कार्य सुरु भएको छ। १३ आना क्षेत्रफलमा बन्ने उक्त भवनको सम्झौता भएको १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको बैंकले जनाएको छ। २०८३ वैशाखमा सम्झौता भएको भवन निर्माणको कार्य २०८४ असोजसम्ममा सकिनेछ।
नयाँ बन्ने तीन तले आधुनिक भवन आवाससहित १० कोठाको हुनेछ। भवन निर्माणको जिम्मा एनइसिपिएल-पिएसएससिपिए जेभी, वालिङ स्याङ्जाले पाएको निर्माण कम्पनीका स्थानीय प्रतिनिधि रवि पौडेलले जानकारी दिए। भवन निर्माणका लागि यतिवेला जग्गा सम्याउने काम तीव्र पारिएको कम्पनीले जनाएको छ।
वि.सं. १९९४ मा स्थापित नेपाल बैंक लिमिटेडको जिल्ला शाखा कार्यालयको आफ्नै भवन बन्न झन्डै ९० वर्ष पर्खनुपरेको छ। जिल्लामा शाखा कार्यालय स्थापना भएको करिब चार दशकपछि स्थानीयको सहयोगमा बैंकले निःशुल्क प्राप्त गरेको जग्गामा भवन बन्ने भएपछि स्थानीयवासी उत्साहित भएका छन्।
बैंकले हालसम्म भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको थियो। बैंकले ठाडोलाइनमा भवन बनाउन थालेसँगै व्यापार व्यवसायमा वृद्धि हुने अपेक्षामा ठाडोलाइनका स्थानीय उत्साहित भएका हुन्। नेपालकै पहिलो तथा पुरानो बैंकले आफ्नै शाखा कार्यालय भवन बनाउन थालेपछि स्थानीयमा उत्साह छाएको बैंकका परामर्शदाता कम्पनीका नवराज दोरङ्गाले बताए।











प्रतिकृया दिनुहोस