कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

छाङछाङदी मन्दिरमा साउनको तेस्रो सोमबार १ लाख १३ हजारभन्दा बढी भेटी संकलन

 

 वालिङ (-  स्याङ्जाको ऐतिहासिक तथा प्रसिद्ध धार्मिक स्थल छाङछाङदी मन्दिरमा साउन महिनाको तेस्रो सोमबार १ लाख १३ हजार ६३६ रुपैयाँ भेटी संकलन भएको छ। साउन भगवान शिवको प्रिय महिना भएकाले महिनाभर शाकाहारी भोजन गरी सोमबार शिवको पूजाआराधना गर्दा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वासका साथ बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको थियो। अविरल वर्षाका बाबजुद पनि स्याङ्जासहित पर्वत, कास्की, तनहुँ र पाल्पाबाट धार्मिक आस्थाका साथ श्रद्धालुहरू मन्दिरमा स्नान तथा पूजापाठका लागि पुगेका थिए।

मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन समितिका संयोजक शोभाकान्त पौडेलका अनुसार ४ वटा सोमबार परेको यसपटकको तेस्रो सोमबार मन्दिरमा चढाइएको प्रत्यक्ष भेटीबाट रु. ३४,१६०, सहयोग रसिदबाट रु. २३,७६१, दानपेटिकाबाट रु. १६,२००, १०८ गौमुख धाराबाट रु. १५,००५, १०८ शिवलिंगबाट रु. १५,००५, आजीवन सदस्यताबाट रु. ७,५०० र व्यापारिक स्टलबाट रु. २,००० गरी जम्मा रु. १ लाख १३ हजार ६३६ संकलन भएको हो। विभिन्न पर्वहरूमा संकलित यो रकम मन्दिरको व्यवस्थापन र परिसरमा भौतिक पूर्वाधार निर्माणमा खर्च गर्ने गरिएको छ।

मन्दिरमा साउनको हरेक सोमबार र हरिशयनी एकादशीका अवसरमा आयोजना गरिने कार्यक्रम अनुसार आज बेलुका ७ बजेबाट महाआरती तथा भजनकीर्तन गरिनेछ। भक्तजनहरूले आफ्ना दिवंगत पितृको सम्झना, जन्मदिन वा अन्य विशेष अवसरमा पनि मन्दिरमा महाआरती गराउन सक्नेछन्। मन्दिरमा बुटवलबाट आएको मोक्ष धाम बोलबम टोलीले आइतबार बिहान र सिद्धबाबा बोलबम टोलीले दिउँसो स्नान तथा पूजापाठ गरेका थिए।

भगवान शिव-पार्वतीको कथासँग प्रत्यक्ष जोडिएको छाङछाङदी मन्दिरको ठूलो ऐतिहासिक एवं धार्मिक महत्त्व रहेको छ, जसको महिमा श्री स्वस्थानी व्रतकथामा समेत उल्लेख छ। कथाअनुसार भगवान शिवले सतीदेवीको मृत शरीर बोकेर हिँड्ने क्रममा यहाँ आइपुग्दा बाँकी सबै शेष अङ्ग पतन भएको र महादेवले तिर्खा मेटाउन त्रिशूल प्रहार गरी जल उत्पन्न गराएको किम्वदन्ती छ। सोही जल हालसम्म पनि पहाडबाट छङछङ गर्दै झरिरहेकाले यस स्थानको नाम 'छाङछाङदी' रहन गएको मानिन्छ। 

प्रतिकृया दिनुहोस