गल्याङ चेम्बरको अधिवेशन सम्पन्न
गल्याङ चेम्बर अफ कमर्सको सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। गल्याङ नगरपालिका–३, गल्याङबजारस्थित नेवा समाजको भवनमा आयोजित अधिवेशनले गङ्गाप्रसाद श्रेष्ठको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
कार्यक्रमको उद्घाटन गल्याङ नगरपालिकाका संस्थापक नगरप्रमुख भुपराज अधिकारीले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अधिकारीले गल्याङको आर्थिक विकास, व्यापार प्रवद्र्धन र निजी क्षेत्रको सशक्तीकरणमा चेम्बर अफ कमर्सले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलताको विकास तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि निजी क्षेत्र र स्थानीय सरकारबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। व्यवसायीहरूलाई एकताबद्ध भएर स्थानीय अर्थतन्त्र सुदृढ बनाउन सक्रिय भूमिका खेल्न पनि उहाँले आग्रह गर्नुभयो।
अधिवेशनको बन्द सत्रमा गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारको विशेष उपस्थिति रहेको थियो। सो अवसरमा अध्यक्ष सुनारले बदलिँदो आर्थिक परिस्थिति, व्यवसायमा देखिएका चुनौती तथा अवसरलाई आत्मसात गर्दै चेम्बर अफ कमर्सलाई अझ सक्रिय र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले स्थानीय उद्योग, व्यापार तथा पर्यटन प्रवद्र्धनमा चेम्बरको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिँदै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
बन्द सत्रले गङ्गाप्रसाद श्रेष्ठको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको निर्वाचन समिति संयोजक ओमबहादुर थापाले जानकारी दिनुभयो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रुमलाल कँडेल, प्रथम उपाध्यक्षमा कुमार श्रेष्ठ, उपाध्यक्षमा दलबहादुर सिंजाली, महासचिवमा हिमलाल भण्डारी, सचिवमा सुमित्रा खड्का, कोषाध्यक्षमा टिकाकुमारी राना तथा सह–कोषाध्यक्षमा रमेशकुमार अधिकारी चयन हुनुभएको छ।
यस्तै सदस्यहरूमा केपी खनाल, गोपाल अधिकारी, टिकाराम भण्डारी, दीपक अधिकारी, कमल रानाभाट, शम्भुनारायण अधिकारी लगायत सर्वसम्मत रूपमा चयन हुनुभएको निर्वाचन समिति संयोजक थापाले जानकारी दिनुभयो।

अधिवेशनको बन्द सत्रमा निवर्तमान अध्यक्ष पूर्णबहादुर रानाभाटले अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष टिकाकुमारी रानाले आर्थिक प्रतिवेदन तथा विधान मस्यौदा समितिका संयोजक दीपक अधिकारीले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको छ।
संशोधित विधानअनुसार यसअघि तीन वर्ष रहेको कार्यसमितिको कार्यकाल अब दुई वर्ष कायम गरिएको छ। साथै, यसअघि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाएर अध्यक्षसहित सबै पदमा निर्वाचन गर्न सकिने नयाँ व्यवस्था गरिएको छ। यसलाई संस्थालाई अझ लोकतान्त्रिक, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यका साथ गरिएको संशोधनका रूपमा हेरिएको छ।
अधिवेशनमा सहभागी व्यवसायीहरूले गल्याङ क्षेत्रको व्यापार व्यवसाय विस्तार, स्थानीय उत्पादनको प्रवद्र्धन, उद्यमीको क्षमता अभिवृद्धि तथा निजी क्षेत्रका साझा समस्याको समाधानका लागि नयाँ कार्यसमितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
नवनिर्वाचित अध्यक्ष गङ्गाप्रसाद श्रेष्ठले सम्पूर्ण व्यवसायीको विश्वास र समर्थनप्रति धन्यवाद व्यक्त गर्दै चेम्बर अफ कमर्सलाई सबै व्यवसायीको साझा संस्थाका रूपमा अझ सक्रिय, प्रभावकारी र व्यवसायीमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्रका समस्या समाधान, उद्यमशीलताको विकास तथा स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो।











प्रतिकृया दिनुहोस