वालिङमा मगर भाषा र लिपिको पुस्तक ‘आखरहिल्म’ लोकार्पण
वालिङ (स्याङ्जा) — मगर भाषा, साहित्य, संस्कृति र इतिहासको संरक्षण गर्ने उद्देश्यले तयार पारिएको ‘आखरहिल्म’ पुस्तक शनिबार वालिङमा एक समारोहका बीच लोकार्पण गरिएको छ। नेपाल लेखक संघको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकारद्वय जिबी राना र सावित्रा थापा मगरद्वारा संयुक्त रूपमा लिखित उक्त पुस्तक सार्वजनिक गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि एवम् समाजसेवी हर्क आलेले पुस्तकको विमोचन गर्दै यो कृति नयाँ पुस्ताका लागि मार्गदर्शक (कोसेढुङ्गा) बन्ने विश्वास व्यक्त गर्नुभयो। मगर समुदायको भाषा, रहनसहन र मौलिक परम्परालाई जीवन्त राख्न यस्ता कृतिहरूले महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ थियो।
कुल १३० पृष्ठ र सात खण्डमा विभाजित उक्त पुस्तकमा मगर समुदायको इतिहास, पहिचान, दैनिक जीवनमा प्रयोग हुने पोशाक, औजार तथा सामग्रीहरूलाई चित्रसहित प्रस्तुत गरिएको छ। प्रकृतिपूजक मगर जातिको प्रकृतिप्रतिको सम्बन्ध, पशुपन्छीको महत्वका साथै रैथाने खानपान र सांस्कृतिक आयामलाई समेत पुस्तकमा समेटिएको छ। यसका अतिरिक्त पुस्तकमा कथा, कविता, मुक्तक, डायरी, निबन्ध, भित्तेपात्रो र मगर लिपिका ब्यानरहरू समावेश छन्।
लामो समयदेखि शिक्षण, सञ्चार र साहित्य क्षेत्रमा सक्रिय लेखक जिबी रानाको यो पहिलो प्रकाशित कृति हो।
विमोचन कार्यक्रममा फोनिज गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष रुद्र श्रीस, गीता रखाली मगर, मिलन समीर, र अनन्त अर्याल लगायतले पुस्तकको विविध पक्षमाथि टिप्पणी तथा समीक्षा गर्नुभएको थियो। 











प्रतिकृया दिनुहोस