भेषजराज साहित्य प्रतिष्ठानको ९९ औँ शृङ्खलामा स्रष्टाहरूद्वारा रचना वाचन
(स्याङ्जा) भेषजराज साहित्य प्रतिष्ठानको आयोजनामा वालिङस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा ९९ औँ शृङ्खलाको नियमित रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ८६ वर्षीय पूर्व जनप्रतिनिधि एवम् कवि निलकण्ठ लम्सालले प्रतिष्ठानको यस निरन्तर अभियानले स्रष्टाहरूलाई साहित्य सिर्जनामा प्रेरणा दिइरहेको बताउँदै शुभकामना व्यक्त गर्नुभयो र आफ्ना 'बूढो भयो' तथा 'देशको असन्तुलित अवस्था' शीर्षकका कविता वाचन गर्नुभयो।
प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कवि जयलाल सुवेदीले 'परिचय बल्ल भयो', इन्द्र पाठकले 'गुरुलाई सम्झना', ढालबहादुर केसी, बोधराज न्यौपाने र बाल प्रतिभा आयाम पाण्डेले कविता तथा रचना प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी लेखनाथ काफ्लेले 'रेसुङ्गाको टावर यात्रा' संस्मरण गजलमार्फत प्रस्तुत गर्नुभयो भने दिलीप थापा मगरले गजल, भविश्वर पंगेनीले समसामयिक विषयमा रचना, विष्णु पंगेनी पाण्डेले मुक्तक, श्यामप्रसाद ढुङ्गानाले 'आँधीखोलाको अनन्तता' र गोपाल जिटीले गीत प्रस्तुत गर्नुभएको थियो। प्रतिष्ठानकी सदस्य सावित्री अर्याल रेग्मीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सहजीकरण सचिव श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो।











प्रतिकृया दिनुहोस