कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

भीरकोटमा उत्प्रेरणात्मक सेमिनार, सञ्चारकला र सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न

 

स्याङ्जाको भीरकोट नगरपालिका–बयरघारीस्थित तामु समाज भवनमा उत्प्रेरणामूलक सेमिनार तथा सातदिने सञ्चारकला र सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न भएको छ।
सत्कर्म फाउण्डेसन तथा सामाजिक सचेतनाका लागि श्रव्य–दृश्य अभियान (साभ नेपाल) को आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, शिक्षक, व्यवसायी, उद्यमी, विद्यार्थी, जनप्रतिनिधि, राजनीतिकर्मी तथा विभिन्न क्षेत्रका करिब २०० जनाको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख प्रशिक्षक एवं उत्प्रेरक डा. तुलसी प्रभास खनालले सकारात्मक सोच, जीवनको मूल्य, सपनाको शक्ति, असल अभिभावकको भूमिका, तनाव व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि, प्रभावकारी सञ्चार, सार्वजनिक वक्तृत्वकला, नेतृत्व विकास तथा व्यक्तित्व विकासलगायत विषयमा प्रशिक्षण दिनुभएको थियो।
उहाँले सफलता केवल ज्ञानले मात्र प्राप्त नहुने उल्लेख गर्दै सकारात्मक सोच, अनुशासन, स्पष्ट लक्ष्य, निरन्तर अभ्यास र प्रभावकारी सञ्चारको संयोजनबाट मात्रै जीवनमा सार्थक उपलब्धि हासिल गर्न सकिने बताउनुभयो। साथै युवाहरूलाई ठूलो सपना देख्न, आफ्नै क्षमतामा विश्वास गर्न र समाज परिवर्तनको नेतृत्व गर्न प्रेरित गर्नुभयो।
सात दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूले सार्वजनिक रूपमा आत्मविश्वासका साथ बोल्ने सीप, प्रभावकारी प्रस्तुतीकरण, स्वरको उचित प्रयोग, शारीरिक हाउभाउ, श्रोतासँग सम्बन्ध स्थापित गर्ने तरिका तथा प्रभावकारी सञ्चारका व्यावहारिक अभ्यास गरेका थिए। तालिमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो।
कार्यक्रमका भिरकोटको निवर्तमान नगरप्रमुख छायाराम खनालले डा. तुलसी प्रभास खनालले सञ्चालन गर्दै आएका यस्ता जीवनोपयोगी तालिमले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमलाई भीरकोटमा नियमित रूपमा सञ्चालन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
लामो समयदेखि शिक्षा, अनुसन्धान, व्यक्तित्व तथा नेतृत्व विकास, मनोविज्ञान, सञ्चारकला र सामाजिक चेतना अभिवृद्धिका क्षेत्रमा सक्रिय रहँदै आउनुभएका डा. खनालले विभिन्न विद्यालय, महाविद्यालय, सरकारी तथा गैरसरकारी संस्थामार्फत हजारौँ शिक्षक, विद्यार्थी, कर्मचारी, जनप्रतिनिधि तथा युवालाई प्रशिक्षण प्रदान गरिसक्नुभएको छ। स्थानीय इतिहास, भाषा, कला, संस्कृति तथा स्थानीय पाठ्यक्रम निर्माणमा समेत उहाँको उल्लेखनीय योगदान रहेको छ।
कार्यक्रमको समापनमा आयोजक सत्कर्म फाउण्डेसन र साभ नेपालले कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने प्रमुख अतिथि, अतिथि, सहभागी तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता प्रेरणादायी र जीवनोपयोगी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
 

प्रतिकृया दिनुहोस