कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

वालिङ महोत्सवः दर्शकको उत्साहजनक साथ 

वालिङ । स्याङ्जाको वालिङमा जारी प्रथम पिंक सिटी महोत्सव वालिङ २०८१ मा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । 
फागुन २१ गते सुरु भएको महोत्सवमा दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको हो । 
महोत्सवमा शनिबार सबैभन्दा बढि दर्शक देखिएको छ । शनिबार सार्वजानिक विदा भएका कारण पनि उल्लेख्य दर्शकले महोत्सवको अवलोकन गरेको देखिएको हो । 
महोत्सवमा आईतबार गायिका रचना रिमाल, जीवन शर्मा, चोलेन्द्र पौडेल, जीवन दाहाल, शिवहरी ढुंगाना, किसु गुरुङ, उदयराज डुम्रे, नृत्यकार दिपा रनपाल तथा पुर्खे बाको हाँस्यव्यांग्य प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवमा आइतबारदेखि कृषि उपजको प्रर्दशनी हुने भएको छ ।
वालिङ चेम्बर अफ कमर्शको आयोजनामा वालिङ–८, खेलमैदानमा जारी रहेको प्रथम पिंक सिटी महोत्सव वालिङमा आइतबार देखि कृषि उपजको प्रर्दशनी हुने भएको हो । 
वालिङ नगरपालिका भित्रका कृषकहरुले उत्पादन गर्नुभएका कृषि उपजको प्रर्दशनी गरिने महोत्सवका कृषि उपज प्रर्दशनीका संयोजक चोलाकान्त अर्यालले जानकारी दिनुभयो । प्रर्दशनीका लागी यही फागुन २५, २६ र २७ गते तिन दिनको समयमा आफ्ना उत्पादनहरुलाई प्रर्दशनीको लागी ल्याउन सकिने उहाँले जानकारी दिनुभयो ।
कृषि प्रर्दशनीमा उत्कृष्ट बन्ने कृषकको लागी पुरस्कारको समेत व्यवस्था गरिएको उहाँको भनाई छ । विभिन्न प्रकारका कृषि उपजका विचमा प्रर्दशनी गरि स्थानिय स्तरमा उत्पादन गर्नुभएका कृषकहरुलाई विभिन्न विधामार्फत छनोट गरी पुरस्कार प्रदान गरिने संयोजक अर्यालले जानकारी दिनुभयो । पुरस्कारमा प्रथम पुरस्कार पाँच हजार बराबरको कृषि औजार, द्वितीय पुरस्कार २५ सय बराबर कृषि औजार र तृतीय पुरस्कार १५ सय बराबरको कृषि औजार रहेको उहाँले जानकारी दिनुभएको छ । कृषि प्रदर्शनीमा सहभागी हुने अन्य कृषकले सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।
प्रथम पिंक सिटी महोत्सव २०८१ अन्तर्गत आइतबार देखि नै महोत्सव स्थलमा भलिबल प्रतियोगिता पनि हुने भएको छ । 
महोत्सवमा अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा ६ समूहले दर्ता गरेको आयोजक वालिङ चेम्बर अफ कमर्सले जनाएको छ । 
प्रतियोगितामा प्रथम हुने समूहले १ लाख ५५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाण–पत्र पाउनेछन् । द्वितीय तर्फले नगद १ लाख ५ हजार, शिल्ड, मेडल र प्रमाण–पत्र र तृतीयले ५५ हजार शिल्ड, मेडल र प्रमाण–पत्र पाउँनेछन् । सन्त्वना तर्फ नगद ३० हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र पाउँनेछन् । 
प्रतियोगिताको खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एकजना खेलाडीले नगद ५ हजार रुपैयाँ, प्रमाणपत्र, ट्रफी र मेडल पाउँनेछन् । यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट मिड ब्लकर, उत्कृष्ट सर्भर र उत्कृष्ट डिफेन्डर छानिने खेलाडीले नगद ३ हजार रुपैयाँ, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
भलिबल खेल हेर्नका लागि करिब २ हजार दर्शक अट्ने प्याराफिट बनाइएको छ । 
महोत्सवमा स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, काव्य गोष्ठी, टिकटक प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ ।
महोत्सव अवधिभर कूल रु. पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ भने दुई लाख भन्दा बढीले महोत्सवको अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवमा रु. ६६ लाख १५ हजार आम्दानी गर्ने र ६ लाख १५ हजार रुपैयाँ बचत हुने अनुमान आयोजकको छ । 
चैत्र ३ सम्म आयोजना हुने महोत्सवमा २५० भन्दा बढि स्टलहरु रहेका छन् ।
 

प्रतिकृया दिनुहोस