कल्पित मिडिया प्रा. लि . द्वारा संचालित

वालिङमा बि.पी. विचार गोष्ठी तथा काव्य उत्सव–२०८३ सम्पन्न

 

नेपाली लेखक सङ्घस्याङ्जाको आयोजनामा ४४औँ बि.पी. स्मृति दिवसको अवसर पारी “बि.पी. विचार गोष्ठी एवम् काव्य उत्सव–२०८३’ वालिङमा गरिएको छ । 
वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा कार्यक्रम आयोजना गरिएको हो । नेपाली लेखक सङ्घ स्याङ्जाका अध्यक्ष युवा स्रष्टा पारिश्वर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो चरणमा “बि.पी. विचार गोष्ठी“ सञ्चालन गरिएको थियो। 
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपानेले बि.पी. कोइराला नेपाली राजनीति र साहित्यका युगपुरुष भएको उल्लेख गर्दै साहित्यमा निरङ्कुशता र बन्देज स्वीकार्य नहुने, बि.पी.को नेपाली साहित्यिक चिन्तन र विचार आज झन् बढी सान्दर्भिक बनेको बताउनुभयो । उहाँले बि.पी.ले राजनीतिमा समाजवाद र साहित्यमा स्वच्छन्दतावादको जुन मार्ग कोर्नुभएको थियो, त्यसले नेपाली स्रष्टाहरूलाई सधैँ विचार र अभिव्यक्तिको स्वतन्त्रताका लागि लड्ने प्रेरणा दिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा प्रा. डा. वासुदेव भण्डारी र टिप्पणीकर्ताका रूपमा ध्रुवप्रसाद शर्मा पङ्गेनी रहनुभएको थियो। गोष्ठीमा विचार व्यक्त गर्दै नेपाली काँग्रेस भीरकोटका नगरसभापति यामप्रसाद अधिकारी (लक्ष्मण), वालिङ बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख विष्णु सुवेदी गैह्रे, नेपाल शिक्षक सङ्घ स्याङ्जाका अध्यक्ष पशुपति पौडेल, नेपाली लेखक सङ्घ कास्कीका अध्यक्ष तथा गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ कमल पौडेल ’अथक’ र नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीर लगायतका वक्ताहरूले बि.पी.को बहुआयामिक व्यक्तित्व र साहित्यिक योगदानमाथि प्रकाश पार्नुभएको थियो।  
कार्यक्रमको दोस्रो चरणमा आयोजित “बि.पी. काव्य उत्सव–२०८३“ मा स्याङ्जाली स्रष्टाहरू ध्रुवप्रसाद शर्मा पङ्गेनी, कमला रेग्मी, विकास थापा मगर, बबिन पाठक, रमेश कुख्यात, स्मारिका अर्याल, गोविन्दशरण रेग्मी, मुनाल गोदार क्षेत्री, ढालबहादुर के.सी., रेशमलाल डुम्रे, नारायण न्यौपाने दर्शन, लक्ष्मी रेग्मी खनाल, वसन्त खनाल, खगेन्द्रजंग थापा, दिलीप तिवारी, लीलाप्रसाद रेग्मी, राजु गैह्रे, शम्भु अर्याल, राजेन्द्र श्रेष्ठ, विनुप्रसाद पराजुली, झवनाथ बस्याल, प्रेमप्रसाद सुवेदी, सीताराम अधिकारी, कमलप्रसाद बगाले, प्रकाश न्यौपाने चौरासपति, जि.बी. राना, ओम थापा, गुरुप्रसाद ढकाल, सरस्वती अर्याल काफ्ले, चण्डिकाप्रसाद भट्टराई, शान्ता थापा, यमप्रकाश खनाल, अनन्त अर्याल, लेखनाथ काफ्ले, मिलन समीर र पारिश्वर न्यौपाने लगायतले आफ्ना उत्कृष्ट सिर्जनाहरू वाचन गर्नुभएको थियो।समारोहमा प्रमुख अतिथि प्रा. डा. कुसुमाकर न्यौपानेलाई नेपाली लेखक सङ्घ स्याङ्जाको तर्फबाट विशेष सम्मान गरिएको थियो भने प्रमुख वक्ता, टिप्पणीकर्ता तथा विशिष्ट आमन्त्रित व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। 
नेपाली लेखक सङ्घ स्याङ्जाका उपाध्यक्ष शान्ता थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव गुरुप्रसाद ढकालले गर्नुभएको थियो भने संयोजन निवर्तमान अध्यक्ष एवम् वर्तमान केन्द्रीय सचिव मिलन समीरले गर्नुभएको थियो।
 

प्रतिकृया दिनुहोस